काठमाडौँ - पेटको चोटका कारण कीर्तिमानी २२औं ग्रान्डस्लाम विजेता राफेल नाडालले विम्बल्डनको सेमिफाइनल खेल्ने निश्चित नभएको बताएका छन्। बुधबार राति भएको क्वार्टरफाइनल खेलमा टेलर फ्रिट्जमाथि रोमाञ्चक रुपमा ३-२ को सेटमा जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेका नाडालले खेल्ने सम्भावना न्यून रहेको बताएका हुन्।
उनले फ्रिट्जलाई ३-६, ७-५, ३-६, ७-५, ७-६ (१०-४) को नतिजामा पराजित गरेका थिए। नाडालले सेमिफाइनलमा अस्ट्रेलियन खेलाडी निक किर्गियोससँग प्रतिस्पर्धा गर्ने समीकरण रहेको छ। ३६ वर्षीय नाडालको सेमिफाइनलअघि पेटको चोटको परीक्षण हुनेछ।
‘खेलको दौरान रिटायर्ड हुनु मलाई असाध्यै मन नपर्ने कुरा हो। त्यसैले म सक्दो कोसिस चाहिं गर्छु त्यत्ति हो’, उनले भने, ‘यो सधैं भइरहन्छ। त्यसैले नयाँ केही छैन। मलाई केही दिनदेखि गाह्रो भइरहेको छ। आजको दिन असाध्यै नराम्रो भयो। दुखाई बढिरहेको छ। भोलि म परीक्षण गर्न जानेछु।’
उनले पुरुष एकलतर्फ कीर्तिमानी २२औं ग्रान्डस्लाम उपाधि जितेका छन्। ‘विम्बल्डन जित्नुभन्दा ठूलो कुरा मेरो स्वास्थ्य हो। म सेमिफाइनल खेल्छु या खेल्दिनँ मलाई थाहा छैन’, उनले भनेका छन्।