विश्वकप प्रिभ्यु: दक्षिण कोरिया भर्सेस घाना

काठमाडौँ - कतारमा जारी फिफा विश्वकप अन्तर्गत सोमबार समूह एचमा रहेका दक्षिण कोरिया र घाना भिड्दैछन्। यो खेल साँझ पौने ७ बजेबाट एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ।

समूहचरणको पहिलो खेलमा दक्षिण कोरियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोकेको थियो  घाना भने रोमाञ्चक खेलमा पोर्चुगलसँग ३-२ ले पराजित भएको थियो। दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछन्।

घानालाई नकआउट चरण पुग्ने सम्भावना कायम राख्न पनि जित आवश्यक छ। पहिलो चरणमा अफ्रिकाका ५ वटै राष्ट्रले जित निकाल्न सकेका थिएनन्। दोस्रो चरणमा सेनेगलले आयोजक कतार र मोरक्कोले बेल्जियमलाई पराजित गरिसकेको छ। घाना पनि अफ्रिकन टिमको त्यो लयलाई निरन्तरता दिन चाहन्छ। ट्युनिसिया भने दोस्रो चरणमा अष्ट्रेलियासँग पराजित भइसकेको छ। अर्को अफ्रिकन राष्ट्र क्यामरुनले सोमबारै सर्बियासँग खेल्दैछ।

दक्षिण कोरिया लगातार छैटौं पटक विश्वकप खेल्दैछ। सन् २००२ मा जापानसँग मिलेर संयुक्त रुपमा विश्वकप आयोजना गर्दा सेमिफाइनलसम्म पुगेको कोरिया फेरि त्यस्तै नतिजाको खोजीमा छ। त्यसबेला टर्कीसँग पराजित हुँदै कोरिया चौथो भएको थियो। कोरिया विश्वकपमा एसियाबाट सबैभन्दा राम्रो नतिजा ल्याउने टिम हो।

उता अफ्रिकाबाट घानाले पनि त्यस्तै उपलब्धि हासिल गरेको छ। सन् २००६ मा पहिलो सहभागितामै अन्तिम १६ मा पुगेको घाना त्यसलाई अझ सुधार गर्द २०१० मा क्वाटरफाइनलसम्म पुगेको थियो। अफ्रिकाबाट अहिलेसम्म क्यामरुन, सेनेगल र घाना क्वाटरफाइनलसम्म पुगेका छन्। सन् २०१४ मा भने घाना समूह चरणबाटै बाहिरिएको थियो भने २०१८ को विश्वकपमा छनोट हुन सकेन।

घाना विश्वकपमा पछिल्ला ५ खेलमा जितविहिन छ। जसमा २ बराबरी छ भने ३ हार रहेको छ। सन् २०१८ मा साविक पूर्वविजेता जर्मनीलाई समूह चरणमा पराजित गरेको दक्षिण कोरिया भने समूह चरणबाट बाहिरिएको थियो। कोरिया २०१६ पछि अन्तिम १६ मा पुग्ने लक्ष्यमा रहेको छ।

घाना र कोरियाबीच अहिलेसम्म ६ मैत्रीपूर्ण खेल भएका छन्। जसमा दुवै टिमले ३-३ खेल जितेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×