पाल्पा - पाल्पाको माथागढीमा भुस्याहा कुकुरको टोकाइबाट २८ जना स्थानीय घाइते भएका छन्। घाइतेमध्ये २४ जनाकोे तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। बिहीबार दिनभरमा भुस्याहा कुकुरको टोकाइबाट माथागढी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय घाइते भएका थिए।
उनीहरुमध्ये ४ जनालाई घाँटीदेखि माथिको भागमा टोकेकाले इमिनोग्लोबिन इक्जेन्सन लगाउनुपर्ने अवस्था रहेको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताए। कुकुरको टोकाइबाट घाइते सबैको उपचार निःशुल्क गरिने उनले बताए।
२८ जनामध्ये चार जनाको सामान्य उपचारपछि घर फर्किएको माथागढी–३, का अध्यक्ष तेजबहादुर घर्तीमगरले जानकारी दिए। अन्य २४ जनाको मिसन अस्पतालमा रेबिज बिरुद्धको इन्जेक्सन लगाएपछि थप उपचार भइरहेको उनले बताए। भुस्याहा कुकुरले कोहीलाई अनुहार, खुट्टा तथा हातका विभिन्न भागमा टोकेको वडा अध्यक्ष घर्तीमगरले जानकारी दिए। थप मानिसलाई समेत कुकुरले टोकेको हुन सक्ने भएकाले सम्पर्कमा आउन उनले आग्रह गरे।
भुस्याहा कुकुरको नियन्त्रणका लागि तत्काल काम सुरु गरिएको पालिकाले जनाएको छ। माथागढीको यस क्षेत्रमा भुस्याहा कुकुर विगविगी रहँदै आएको छ। विगत तीन÷चार वर्षदेखि नै माथागढीको माडी र तानसेनको दमकडा क्षेत्रमा भुस्याहा कुकुरको टोकाइबाट स्थानीय बासिन्दा प्रभावित हुँदै आएका छन्।