काठमाडौँ -नेपालको वातावरण अनुसार जुनसुकै ठाउँमा पनि सहजै खेल्न सकिने भएकोले यसलाई निकै लोकप्रिय खेल मानिन्छ।
नेपालको राष्ट्रिय खेलको रुपमा मान्यता पाएको भलिबल युवा पुस्तादेखि पाकापुस्तासम्म निकै रुचाइएको खेल हो। केही वर्ष पहिले भलिबलभन्दा अरु खेल देख्न पनि निकै कम पाइन्थ्यो। स्थानीय क्षेत्रबाटै भलिबल खेल्न सुरु गर्नुभएका विष्णुप्रसाद चौधरीको खेल जीवन निकै रोचक छ। भलिबललाई नजिकबाट नियालेका कैलारी गाउँपालिका–७ का चौधरीसँग २० वर्ष राष्ट्रिय भलिबल खेलाडीको रुपमा काम गरेको अनुभव छ।
विद्यालय पढ्दै गर्दा खेल क्षेत्रमा लाग्नुभएका विष्णुको सरकारी जागिरले पनि खेल खेल्ने सपनालाई मार्न सकेन । उनले स्थानीय क्षेत्रमा भलिबल खेलमा उत्कृष्ट भएकै कारण राष्ट्रिय रुपमा आफ्नौ छुट्टै पहिचान बनाउन सफल भए। विसं २०४२ देखि राष्ट्रिय भलिबल टिममा रहेका विष्णुले २० वर्षसम्म राष्ट्रिय भलिबल टिममा रहेर खेले। नेपाल विद्युत् प्राधिकरणमा जागिर हुँदा पनि उहाँले जागिरकै कारणले कुनै खेल छुटाउनु परेन।
“मैले भलिबल खेललाई नजिकबाट नियालेको छु। खेलकुदभन्दा ठूलो कुरा मेरा लागि जीवनमा केही पनि हुन सकेन। जागिर पनि यस्तो पाएँ, जति बाहिर हुँदा पनि कुनै अप्ठ्यारो महसुस नै नहुने”, उनले भने, “विद्युत् प्राधिकरणभित्रबाट पनि हामीले खेल्ने अवसर पाउने भएकाले मलाई अझै सहज भएको थियो। त्यसैले पनि मेरो खेलप्रतिको लगाव कहिल्यै कम भएन।” राष्ट्रिय भलिबल टिममा रहँदै विष्णुको छोरीले पनि महिला तर्फको राष्ट्रिय भलिबल टिममा अवसर प्राप्त गरे।
अचम्मको कुरा त के छ भने, विष्णुका तीन छोरी र एक छोरा खेल क्षेत्रमै छन्। त्यो पनि भलिबलमै। साफ चेम्पेन्सिममा दुईपटक बुबा र जेठी छोरी नेबिका चौधरीलेसँगै सहभागिताको अवसर पाइन्। विष्णुकी जेठी छोरी नेविका र सङ्गिता चौधरी भलिबलको राष्ट्रिय महिला टिममा छन्। नेबिका अहिले पारिवारिक समस्याका कारण घरमा आराम गर्दै आएको बताउँदै विष्णुको माइली छोरी भने अहिले पनि महिला राष्ट्रिय टिमबाट भलिबल खेल्दै आएको विष्णुको भनाइ छ। “नेविका र मैले दुईपटकसँगै साफ चेम्पेन्सिपमा सहभागी भएका थियौँ। म पुरुषबाट थिए भने छोरी महिला टिमबाट”, उनले भने, “त्यो अवसर सम्भवतः कसैलाई पनि जुर्दैन होला। जुन मलाई जुर्यो।”
विष्णुका छोराले पनि प्रदेशस्तरीय थुप्रै प्रतियोगिता खेल्ने अवसर पाएका छन्। अहिले पनि उनका छोरा आरिष चौधरी प्रदेश टिममा सहभागी छन्।