सुर्खेत - कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा (आर्ट)ले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। बुधबार नियुक्त भएका मुख्यमन्त्री शर्मालाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराउने भएका हुन्।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीका अनुसार अपराह्न चार बजे शपथ ग्रहणको कार्य तालिका तय गरिएको हो। माओवादी संसदीय दलका नेता शर्मा बुधबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनलाई नेकपा एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थन रहेको छ।
कर्णालीमा ८ बाट ७ मन्त्रिपरिषद् बनाउन लागिएको छ। मुख्यमन्त्री शर्मासँगै अन्य मन्त्रीहरूको पनि नियुक्त र शपथ हुने दलहरूले बताइरहेका छन्। यद्यपि अहिलेसम्म कुन दलबाट को–को मन्त्री बन्दै छन् भन्ने कुरा खुलेको छैन।