काठमाडौँ - कलिङ साहित्य महोत्सवले आगामी वर्ष २०२३ देखि विभिन्न १५ विधामा १५ जना लेखकलाई नेपाल यशस्वी पुस्तक पुरस्कार दिने घोषणा गरेको छ। यस वर्ष अक्टुबर १५ र १६ मा पहिलो पटक काठमाडुमा उक्त महोत्सव भएको थियो।
आगामी वर्ष सेप्टेम्बरको १ देखि ३ सम्म काठमाडौंमा महोत्सव गर्ने तयारी रहेको महोत्सव आयोजक कमिटीका संस्थापक तथा निर्देशक रश्मी रन्जन परिदाले बताएका छन्। 'यस वर्षको कार्यक्रमले उत्साह दिएको छ, नेपाली लेखक तथा साहित्यिक क्षेत्रबाट राम्रो माया प्राप्त भएको छ,' उनले भने, 'आगामी वर्ष पुस्तक तथा लेखकलाई कार्यक्रममा पुरस्कृतसमेत गर्ने योजना बनाइएको छ।'
आयोजकका अनुसार प्रकाशन तथा मनोनयनमा परेका सबै विधाका लेखकहरूबाट पुस्तक छनोट गरी काठमाडौँ - कलिङ साहित्य महोत्सवमा नेपाल यशस्वी अवार्डबाटबाट पुरस्कृत गरिने छ। त्यस्तै, नेपाल र भारत दुवैतिरका २/२ जना लेखकलाई नगद ५० नेपाली रुपैयाँसहित पुरस्कृत समेत गरिने आयोजकले जनाएको छ।
भारतको भुवनेश्वरमा वर्षेनी कलिङ साहित्य महोत्सव हुँदै आएको छ। यस वर्षबाट काठमाडौँमा सुरु भएको कलिङ साहित्य महोत्सवले सांस्कृतिक संवाद, धार्मिक तथा साहित्यिक परिप्रेक्ष्य र नेपाल-भारतबीचको दीर्घकालीन सम्बन्धलाई मजबुत बनाउने’, आयोजकले विज्ञप्तिमा उल्लेख गरेको छ।