चोटको कारण कोलिनले इङ्ल्याण्डविरुद्धको बाँकी टेस्ट सिरिजका खेल गुमाउने

काठमाडौँ - इङ्ल्याण्डसँगको पहिलो टेस्टमा पराजित भएपछि पहुना टोली न्यूजिल्याण्डका अलराउन्डर कोलिन डी ग्रान्डहोम चोटका कारण बाँकी टेस्ट सिरिजका खेलबाट बाहिर भएका छन्। लर्ड्समा भएको पहिलो टेस्टको तेस्रो दिन बलिङ गर्ने क्रममा कोलिनको खुट्टामा चोट लागेको थियो। 

उनी करिब १० देखि १२ हप्ता क्रिकेटबाट टाढा रहनेछन्। त्यसैले उनी इङ्ल्यान्डविरूद्धको टेस्ट सिरिजका साथै आयरल्याण्ड, स्कटल्याण्ड र नेदरल्याण्ड्सविरूद्धको सिरिजमा न्यूजिल्याण्डको टोलीमा सहभागी नहुने भएका छन्।

पहिलो टेस्टमा सातौं नम्बरमा ब्याटिङ गरेका कोलिनले आफ्नो टोलीका लागि ४२ रनको अविजित र महत्त्वपूर्ण इनिङ्स खेलेका थिए। उनले जो रूटलाई बलिङ गर्दा आउट बनाएका थिए। उनले बेन स्टकलाई पनि फ्रन्टफुट नो बलमा बोल्ड गरेका थिए। तर, त्यसपछि उनी घाइते भए। 

कोलिनको चोटपछि अफ स्पिन अलराउन्डर मिचेल ब्रेसवेललाई दोस्रो र तेस्रो टेस्टका लागि टोलीमा समावेश गरिएको छ। ब्रेसवेल घाइते हेनरी निकोल्सको कभरको रूपमा लर्ड्समा थिए, जसले ट्रेन्ट ब्रिजमा शुक्रबारबाट सुरू हुने दोस्रो टेस्टमा पुनरागमन गर्न सक्नेछन्।

न्यूजिल्यान्डका मुख्य प्रशिक्षक ग्यारी स्टेडले कोलिनको चोटबारे भने,‘डी ग्रान्डहोम हाम्रो टोलीका महत्त्वपूर्ण सदस्य हुन्, उनको चोट हाम्रो लागि ठूलो धक्का हो। हामी पक्कै पनि उसलाई मिस गर्नेछौं। मिचेललाई टोलीमा राख्नु हाम्रो लागि राम्रो हो। उनी गत महिनादेखि हाम्रो टोलीसँग छन् र खेलको लागि तयार छन्।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×