काठमाडौँ - जातीय भेदभावको आरोपको सामना गरिरहेका क्रिकेट स्कटल्यान्डका सबै बोर्ड सदस्यहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। स्पोर्ट स्कटल्यान्डले सोमबार प्रकाशित गरेको रिपोर्ट अनुसार स्कटल्यान्डका पूर्वबलर माजिद हकले बोर्डमा यो आरोप लगाएका थिए।
उनी २०१५ को विश्वकपमा टोलीको सदस्य थिए। तर, भ्रमणको बीचमा उनलाई फिर्ता पठाइएको थियो। त्यसपछि उनले कहिल्यै क्रिकेट खेलेनन्। हकले आफूमाथि जातीय भेदभाव भएको दाबी गरेका छन्। यसबाहेक उनका साथी कासिम शेखले पनि जातीय दुर्व्यवहारको आरोप लगाएका थिए।
राजीनामा पत्रमा भनिएको छ, ‘हामी हाम्रो जातीय व्यवहारको लागि गहिरो दु:खी छौं र खुलेर माफी चाहन्छौं। नि:सन्देह यो परिवर्तनको लामो यात्राको सुरुआत हो। हामी पक्कै पनि यो बाटोमा जारी रहनेछौं। क्रिकेट स्कटल्यान्डमा जातीय विभेदलाई जरैदेखि उखेल्नका लागि आमूल परिवर्तन आवश्यक छ। त्यसैले हामी सबैले राजीनामा दिएका छौं।’
बोर्डले स्पोर्ट स्कटल्यान्डको प्रतिवेदन अहिलेसम्म नदेखेको बताएको छ। तर, हक र शेखका वकिल आमिर अनवरले रिपोर्टको नतिजा भयानक रहेको बताएक छन्।
उनले भने,‘हक र शेखलाई ध्यानमा राख्दै धेरै अन्य खेलाडीहरूले पनि क्रिकेट स्कटल्यान्डमा भइरहेको जातीय संस्कृति र अपमानको बारेमा गुनासो गरेका छन्। यदि तपाईं कालो खेलाडी हुनुहुन्छ भने तपाईं जातीय भेदभावको शिकार हुन बाध्य हुनुहुन्छ।’
क्रिकेट स्कटल्यान्डका प्रवक्ताका अनुसार यो बोर्डका लागि चुनौतीपूर्ण समय हो। उनले भने, ‘सञ्चालकको निर्णयबारे हामी सचेत छौं। बोर्ड सञ्चालनका लागि आवश्यक कदम चाल्नेछौं।’