रौतहट - बाल श्रमिकका रूपमा भारत कार्यरत तीन जनालाई रौतहटको एक गैरसरकारी संस्थाले उद्धार गरी आफन्तलाई जिम्मा लगाएको छ। यस्तै ताप्लेजुङका अर्का एक बालकको पनि उद्धार भएको छ।
सामुदायिक विकास तथा सचेतना नेपालको पहलमा मुम्बईको एक ब्याग उद्योगमा कार्यरत ३ जना बाल श्रमिकको उद्धार गरिएको हो।
उद्धार गरिएका नाबालकहरूलाई मङ्गलवार परिवारलाई जिम्मा लगाइएको सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी निर्देशक दिलीप कोइरालाले बताए।
उद्धार भएका बालकहरूमा राजपुर नगरपालिकाका एक जना, वृन्दावन नगरपालिकाका १ जना र यमुनामाई गाउँपालिकाका १ जना रहेका छन्।
उक्त संस्थाको पहलमा गत साउन यता २३ जना बालश्रमिकहरुको भारतबाट उद्धार गरिएको कोइरालाले जानकारी दिएका छन्।
यसैबीच ताप्लेजुङ गौरादह नगरपालिका ५ का बुद्धिमान तामाङलाई पनि भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ।
कामको सिलसिलामा भारत गई हराइरहेकोमा बिहारबाट उद्धार गरेर आफन्तको जिम्मा लगाइएको हो।