काठमाडौँ । थारु समुदायमा पाक्ने पहिचानसहितका खानाका लागि थारु बस्ती पुग्नुपर्दैन।
नारायणगढको व्यस्त सहरको बीचमा एक थारु युवाले आफ्नो पहिचानसहितको खानाको होटल सञ्चालन गर्दै आएको छ। उच्च शिक्षा अध्ययनपछि एक दशकभन्दा लामो होटल क्षेत्रको अनुभव सङ्गालेर भरतपुर महानगरपालिका–२८ मेघौलीका कृष्ण महतोले नारायणगढको कमलनगरमा होटल ह्याप्पी होम सञ्चालन गरेका हुन्।
उनको होटलमा थारु भान्से (कुक) ले घोँगी, हाँसको छोइला, चिचर, झिंगे माछा, अन्य माछा, गगँटाजस्ता थारुका परम्परागत परिकार पाइन्छन्। त्यसो त होटलमा अरू परिकार पनि पाक्ने गर्दछन्। महतोले भने, “मेरो होटलमा आउनेको पहिलो रोजाइ थारु खाना नै हुने गर्दछ।” चिल्लो कम हुने हुँदा थारु खाना स्वास्थ्यवर्द्धक र पोषिलो हुने गर्दछ। थारुको बाहुल्य बस्ती रहेको जिल्लाको सहरी क्षेत्रमा यस्ता अन्य होटल नभएको उनको भनाइ छ। उनले भने, “म थारु परिकारका लागि माडी, टाँडी र मेघौलीसम्म पुगेर सामग्री ल्याउने गर्दछु।”
परिकार थारुका पाक्ने भए पनि अन्य जातिले बढी रुचाएको उहाँको अनुभव छ। थारु परिकार पाइन्छ भन्ने थाहा पाउने परपरबाट पनि आफ्नामा आउने गरेको महतोको भनाइ छ। उनले भने, “हाम्रो जातिको पहिचानसहितको यो परम्परागत खानाको माग बढ्दो छ।” मानव स्वास्थ्यका लागि थारु परिकार आफैँमा निकै राम्रो हुने उनको दाबी छ।