काठमाडौँ - शुक्रबार राति भएको खेलमा अस्ट्रिया र फ्रान्सले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। अस्ट्रियाका एन्ड्रिएस वेइमानले गोल गर्दा फ्रान्सका क्लियन एमबाप्पेले बराबरी गोल फर्काए थिए।
परिवर्तित खेलाडीको रूपमा मैदान छिरेका युवा स्टार क्लियन एमबाप्पेको गोलमा फ्रान्स यूईएफए नेसन्स लिग ‘ए’ ग्रुप १ मा हारबाट जोगिएको हो। खेलको ३७औं मिनेटमा एन्ड्रिएस वेइमानले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए। उनले कोनराड लेइमेरको पासमा गोल गर्न सफल भएका थिए। तर, त्यो अग्रतालाई अस्ट्रियाले अन्तिमसम्म बचाउन सकेन।
खेलको ८३औं मिनेटमा परिवर्तित खेलाडी एमबाप्पेले गोल गर्दै फ्रान्सलाई हारबाट जोगाएका थिए। ६३औं मिनेटमा एन्टोइन ग्रिजमनको स्थानमा मैदान छिरेका एमबाप्पेले अर्का परिवर्तित खेलाडी क्रिस्टोफोर एनकुुकुको पासमा गोल गर्न सफल भएका थिए। एनकुकु ७९औं मिनेटमा किङ्सले कोमानको स्थानमा मैदान छिरेका थिए। यो बराबरीसँगै अस्ट्रिया दुई खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा छ। डिफेन्डिङ च्याम्पियनसमेत रहेको फ्रान्सले भने कमजोर शुरुवात गर्दा तीन खेलबाट दुई अंक मात्रै जोडेको छ।