काठमाडौँ - कानुन हेर्ने हो भने मन्त्रिपरिषद्को निर्णय उल्टाउन मन्त्रिपरिषद्ले मात्रै सक्छ। तर मन्त्री शक्तिशाली रहे भने मन्त्रिपरिषद्को निर्णय पनि मन्त्रीको एकल निर्णयले उल्टाउन सकिने रहेछ। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो त्यही शक्तिको प्रयोग गर्दै मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका एक कार्यकारी निर्देशकलाई हटाएर आफू निकटका कनिष्ठ व्यक्तिलाई कार्यकारी निर्देशक बनाएका छन्।
स्वास्थ्यमन्त्री बस्नेतले पदबाट हटाएका व्यक्ति भक्तपुर क्यान्सर अस्पतालका निर्देशक विष्णुदत्त पौडेल हुन् भने उनको स्थानमा नियुक्ति दिइएका व्यक्तिचाहिँ उज्ज्वल चालिसे हुन्। झापाका विष्णुदत्त पौडेललाई २०७७ साल मङ्सिर १८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्ति दिइएको थियो। तत्कालीन केपी शर्मा ओली सरकारको पालामा मन्त्रिपरिषद्को निर्णयबाट उनलाई कार्यकारी निर्देशकमा नियुक्ति दिइएको थियो। सोही अस्पतालमा ११ औँ तहमा कार्यरत डाक्टर विष्णुदत्त पौडेललाई कार्यकारी निर्देशक बनाउँदा सरकारले गठन आदेशमार्फत बनाएको थियो।