काठमाडौँ - कप्तान, देशका लागि सबैभन्दा गोल र थुप्रे कीर्तिमान। ३३ वर्षीय वेल्सका फरवार्ड गेराथ बेल यो विश्वकपमा वेल्सका लागि सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन्।
५ पटक च्याम्पियन्स लिगको उपाधिका साथै ३ पटक फिफा क्लब विश्वकपको उपाधि जितेका बेलले वेल्सको जर्सीमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन्।
बेलले आफ्नो प्राथमिकताहरू लेखेको चर्चित झण्डा फुटबल समर्थकहरूले बिर्सेका छैनन् र बेलले पनि आफ्नो देशका लागि खेल्दा जहिले पनि थप ऊर्जावान् बन्ने गर्छन्। बेल उमेरले ३३ वर्ष पुगे पनि विश्वकप छनोटमा गोल गर्नुका साथै र गोलको अवसर सिर्जना गरेर आफ्नो महत्त्व पुष्टि गरेका थिए।
पहिलो खेलमा अमेरिकाविरुद्ध बराबरी गर्दा पनि उनको पेनाल्टी निर्णायक बनेको थियो। वेल्सका लागि बेलले १०९ खेलमा ४१ गोल गरेका छन्। उनी हाल मेजर लिग सकरमा लस एन्जलिस एफसँग आबद्ध रहेका छन्।