राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी : महानिर्देशक अधिकारी

गण्डकी - राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताएका छन्।

पोखरा उद्योग वाणिज्य सङ्घद्वारा हिजो (मङ्गलबार) पोखरामा आयोजित हालै महानिर्देशकको जिम्मेवारी सम्हालेका अधिकारीको स्वागत कार्यक्रममा उनले ठुला कर छलीका घटनामा आँखा चिम्लेको आरोपबाट विभागलाई मुक्त गराउने प्रतिबद्धता व्यक्त गरे। राजस्व चुहावट हुने क्षेत्र पहिचान गरेर विभाग अगाडि बढ्ने बताउँदै उनले आफूहरूको दृष्टिमा ठुला भन्ने कोही नरहेको बताए।

राजस्व चुहावटको सबैभन्दा बढी जोखिम भन्सार क्षेत्र, ट्रेडिङ व्यवसाय, निर्माण र सेवा क्षेत्रमा रहेको बताउँदै उनले उद्योगको हकमा राजस्व चुहावट कम रहेको र त्यसले उत्पादकत्व वृद्धिमा सघाएको उल्लेख गरे। बजार एउटा समूहको अवैधानिक कब्जामा अगाडि बढेको र यसलाई रोक्न नसक्दा हिजो बाबुबाजेको पालादेखि व्यवसाय गर्दै आएकाहरू पलायन हुने खतरा बढेको उनले बताए।

महानिर्देशक अधिकारीले सही तरिकाले व्यवसाय गर्नेहरूको संरक्षण र अवैधरूपले हुने राजस्व चुहावट रोक्नु जरुरी रहेको बताए। महानिर्देशक अधिकारीलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापतिले उजुरी र छड्के जाँचका नाममा व्यवसायीको मानमर्दन नगर्न तथा व्यवसायीलाई सफाइको मौका दिन माग गरे। पोखरा उद्योग वाणिज्य सङ्घ अवैध व्यवसायको पक्षमा नभएको प्रस्ट पार्दै उनले व्यवसायीमाथि आरोप लाग्दैमा ऊ अपराधी नहुने र सफाइको मौका पाउने बताए।

सङ्घका महासचिव सुरेन्द्रमान विजुक्छे, सङ्घका वाणिज्यतर्फका उपाध्यक्ष अर्जुन पोखरेल, लेखनाथ उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य विक्रम कर्माचार्य, नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीकी महिला उद्यमी समिति संयोजक रामकली खड्का, उद्योग परिसङ्घ गण्डकीका अध्यक्ष विनोद शर्मालगायतले राम्रो गर्नेलाई प्रोत्साहन तथा गलत गर्नेलाई कारबाही हुनुपर्ने बताउँदै राज्यको व्यवसायीमैत्री नीति तथा व्यवहार आवश्यक भएकामा जोड दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×