काठमाडौँ - चिरञ्जीवी र सलमान खान स्टारर प्रतीक्षित तेलुगू फिल्म गडफादरलाई नेपालमा समेत छायांकन गर्ने तयारी भएको छ।
नेपालमा छायांकन लोकेसन हेरेर कार्यकारी निर्माता उमाशंकर राजुसहितको टोली फर्किएको छ। जोमसोम विमानस्थल क्षेत्रमा लोकेसन हेरेर टोली फर्किएको जानकारी निर्माण नियन्त्रक सुरज आचार्यले दिएका छन्।
यसै साता राजुसहित लाइन प्रोड्युसर राजेन्द्र घिमिरे र निर्माण नियन्त्रक आचार्य जोमसोम पुगेका थिए। अहिलेलाई लोकेसन हेर्ने काम भए पनि फिल्म नेपालमै सुटिङ हुने वा नहुने टुंगो चाहिं मंगलबारसम्म लाग्नेछ।
‘उनिहरुलाई लोकेसन मन परेको छ। जोमसोममा सुटिङ गर्नेबारे उनिहरुले भोलि वा पर्सि मात्र निधो दिनेछन्,’ आचार्यले भने, ‘यदि उनिहरुले निधो गरे भने सेप्टेम्बर १५ भित्र छायांकन भइसक्छ।’
खासमा ५ मिनेटको दृश्य छायांकनको लागि मात्र खिच्ने तयारी भएको हो। ‘सुरुमा नर्वेमा छायांकन गर्ने योजना रहेछ। नेपालमा सुटिङ गर्दा सजिलो र भिसा तथा प्लेनको खर्च पनि जोगिने अनि नेपालको पर्यटनलाई पनि फाइदा हुने भन्दै हामीले कन्भिन्स गरेका हौं,’ आचार्यले भने।
मोहन राजा निर्देशित फिल्म अक्टोबर ५ मा विश्वव्यापी प्रदर्शनको तयारीमा छ भने टिजर पनि सार्वजनिक भइसकेको छ। आचार्य प्रमुख रहेको थ्री ह्विलर्सकै व्यवस्थापनमा यसअघि बलिउड फिल्म ‘उचाई’को छायांकन पनि नेपालमै भएको थियो।