काठमाडौँ । बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन्।
सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १ सय ३३ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन्। योसँगै बेलायतमा ओमिक्रोनबाट कूल सङ्क्रमितहरुको सङ्ख्या ३७ हजार १०१ पुगेको पनि अधिकारीहरूले जनाएका छन्। त्यसैगरी, कोरोना भाइरसबाट भने एकैदिनमा ८२ हजार ८८६ जना सङ्क्रमित भएका छन्। बेलायतमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १ करोड १३ लाख ६१ हजार ३ सय ८७ पुगेको जनाइएको छ। यसअघि, गत शनिबार एकैदिन ९० हजारभन्दा बढी सङ्क्रमित भएका थिए। बेलायतमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक धेरै भएको छ। बेलायतमा एकैदिनमा अहिलेसम्म सबैभन्दा धेरै ९३ हजार ४५ जना सङ्क्रमित भएका थिए। त्यसपछि भने घट्दै गएको छ। सङ्क्रमित भएकाहरूको सङ्ख्याको तुलनामा मृत्यु भएकाहरूको सङ्ख्या भने सामान्य नै देखिएको छ।
पछिल्लो एक दिनमा कोरोनाका कारण ४५ जनाको मृत्यु भएको छ। बेलायतमा कोरोनाका कारण अहिलेसम्म १ लाख ४७ हजार २ सय १८ जनाको मृत्यु भएको बेलायतको सरकारी तथ्याङ्कले जनाएको छ।