काठमाडौँ - युवा उद्यमशीलता प्रवर्द्धन गर्ने, नेपाल र भारतका ‘स्टार्टअप’को अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजित तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन राजधानीमा शुरु भएको छ।
सम्मेलनको आज सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रूपमा उद्घाटन गरेका छन्। सो अवसरमा सञ्चार मन्त्री कार्कीले उद्यमशीलताको विकास, स्टार्टअप व्यवसायलाई नेपाल सरकारले प्रोत्साहित गर्ने नीति लिएको बताए। सरकारले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन, वैदेशिक लगानी भित्रयाउन लगानीमैत्री नीति लिएको र सेवा प्रवाहलाई सरलीकृत गर्दै प्रक्रियागत झन्झटलाई हटाइएको उनले बताए। सरकारले स्थापना गरेको एकल विन्दु सेवाबाट उद्योगी व्यवसायीलाई व्यवसायिक गतिविधि बढाउन सहयोग मिलेको उनको भनाइ छ।
मुलुकको आर्थिक विकासको मेरुदण्ड उद्यमी र उद्यमशीलता भएको उल्लेख गर्दै उनले व्यवसाय प्रवर्द्धन, उद्यमीको क्षमता अभिवृद्धि र वित्तीय सहजीकरण गर्न सरकारले सोसम्बन्धी नीति परिमार्जन गरेको बताए। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत क्वात्राले सम्मेलनले युवा उद्यमीलाई व्यावसायिक आधार प्रस्तुत गरेको बताए। अन्वेषण र उद्यमशीलता भारत सरकारको प्राथमिकतामा रहेको जानकारी दिँदै उनले भारत र नेपालका युवा उद्यमीको क्षमता अभिवृद्धि गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। भारतीय दूतावासका प्रथम सचिव अभिषेक उपाध्यायले भारत र नेपालका युवा उद्यमीलाई एकठाउँमा ल्याएर अनुभव आदानप्रदान गर्न सम्मेलनको आयोजना गरिएको बताए। सम्मेलनको उद्घाटन सत्रमा सफ्टवयर कम्पनी ‘एफ वान सफ्ट’का निर्देशक सुवास शर्माले जनतालाई सरल रूपमा वित्तीय सेवा पुर्याउन आफ्नो कम्पनी सफल भएको बताएका छन्।
क्लक वि विजनेस इनोभेसन्स् र काठमाडौँस्थित भारतीय दूतावासको सहकार्यमा ‘कनेक्ट इन’को तेस्रो संस्करणका रुपमा सम्मेलनको आयोजना गरिएको हो। ‘कनेक्ट इन’को पहिलो संस्करण सन् २०१८ र दोस्रो संस्करण सन् २०१९ मा भएको थियो। सम्मेलनमा ३०० भन्दा बढी नेपाली तथा भारतीय स्टार्टअप, उद्यमी, लगानीकर्ता, विज्ञ, उच्चपदस्थ नेपाली तथा भारतीय अधिकारीको सहभागिता रहेको छ। सम्मेनलअन्तर्गत आयोजना हुने तीनवटा ‘प्यानल डिस्कसन’ मा १५ बढी नेपाली र भारतीय प्रख्यात वक्ताले आ–आफ्ना अनुभव आदानप्रदान गर्ने आयोजकले जनाएको छ। सम्मेलनअन्तर्गत यही चैत १ गते भएको आइडिया अडिशनबाट आफ्ना स्टार्टअप व्यवसायलाई प्रस्तुत गरेका २० स्टार्टअप व्यवसायीमध्ये प्रतिस्पर्धाका आधारमा उत्कृष्ट चार उद्यमी छनोट भएका थिए। तेक्का प्रालि, बोया फ्रेस प्रालि, सारङ्ग प्रालि र वेद प्रालि उत्कृष्ट छनोट भएका थिए।
सम्मेलनमा उत्कृष्ट चार उद्यमीले नेपाल र भारतका प्रख्यात उद्यमीका बीच आयोजना हुने अन्तिम प्रतिस्पर्धामा आफ्नो व्यावसायिक विचार प्रस्तुत गर्नेछन्। सम्मेलन नेपाल र भारतका युवा उद्यमीबीच आपसी छलफल, नयाँनयाँ अवधारणा विकास तथा विस्तार र अवसर खोजी गर्ने साझा मञ्च हुने आयोजकको विश्वास छ।