मकवानपुर - जिल्ला प्रशासन कार्यालय मकवानपुरले चैत मसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको जनाएको हो।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको जानकरी दिए। स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियार चैत ३० गते भित्र नजिकैको प्रहरी चौकीमा बुझाउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको बताइएको छ।
प्राप्त सूचनामा गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबाट भएको निर्णयानुसार निर्वाचन पश्चात फिर्ता हुने उल्लेख छ। सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको हो।