माइकलको शतकमा आयरल्याण्डमाथि न्यूजिल्याण्डको रोमाञ्चक जित

काठमाडौँ - घरेलु टोली आयरल्याण्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेलमा न्यूजिल्याण्ड विजयी भएको छ। गएराति सम्पन्न खेलमा आयरल्याण्डविरुद्ध न्यूजिल्याण्डले एक विकेटको रोमाञ्चक जित हात पारेको हो। 

३०१ रनको लक्ष्य न्यूजिल्याण्डले १ बल बाँकी छँदा ९ विकेट गुमाउँदै पुरा गर्यो। उसका लागि माइकल ब्रेसवेलले शतकीय तथा मार्टिन गुप्टिलले अर्धशतकीय पारी खेलेका थिए।

१२७ रनमा अविजित रहेका ब्रेसवेलले ८२ बलमा १० चौका र ७ छक्का प्रहार गरेका थिए। गुप्टिलले ६१ बलमा ६ चौका र १ छक्कासहित ५१ रन बनाए। ग्लेन फिलिप्सले ३८, ईश सोधीले २५ र कप्तान टोम लथमले २३ रन जोडेका थिए।

आयरल्याण्डका लागि कर्टिस क्याम्फरले ३, मार्क आदिरले २, क्रेग योङ्ग, जोश लिटल र एण्डी म्याकब्राइनले १/१ विकेट लिगेका थिए।

त्यसअघि डब्लिनस्थित द भिलेजमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३०० रन बनाएको थियो। उसका लागि ह्यारी टेक्टरले शतकीय पारी खेलेका थिए। ११३ रन बनाएका उनले ११७ बलमा १४ चौका र ३ छक्का प्रहार गरेका थिए।

कर्टिस क्याम्फरले ४३, एण्डी म्याकब्राइनले ३९, सिमी सिंहले ३० र लोर्कन टकरले २६ रन जोडेका थिए। न्यूजिल्याण्डका लागि लोकी फर्गुसन, ईश सोधी र ब्लेयर टिकनरले २/२  तथा म्याट हेनरी र ग्लेन फिलिप्सले १/१ विकेट गिराए।

यो जितसँगै न्यूजिल्याण्डले तीन खेलको सिरिजमा १-० को अग्रता लिगेको छ। दोस्रो खेल मंगलबार हुनेछ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×