राजदूत खत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ - अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जोसेफ बाइडेन समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। राजदूत खत्रीले यही अप्रिल १९ मा पेश गरेको प्रमाणपत्र अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनले ग्रहण गरेको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले जनाएको छ।

यसअघि ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न भौतिक रुपमा उपस्थित हुने व्यवस्थालाई परिमार्जन गरी कोरोना महामारीका कारण पत्रमार्फत ओहोदाको प्रमाणपत्र पेश गरिएको थियो। सोही बमोजिम राजदूत खत्रीले अमेरिकी विदेश मन्त्रालयमार्फत ह्वाइट हाउसमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका थिए।

सो प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपति वाइडेनले खत्रीलाई डिसीको कूटनीतिक समुदायमा स्वागत गर्नुका साथै आफ्नो सरकार दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध मजबुत पार्न इच्छुक रहेको बताएको दूतावासको विज्ञप्तिमा उल्लेख गरिएको छ।

खत्रीले प्रमाणपत्र पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली जनताको तर्फबाट राष्ट्रपति जो वाइडेनको सफल कार्यकाल र सुस्वास्थ्यको कामना गरेका थिए। साथै नेपालको विकासको लागि निरन्तर सहयोग गर्दै आएकामा राजदूत खत्रीले अमेरिकी जनता र अमेरिका सरकारलाई आभार व्यक्त गरे।

खत्रीले आगामी दिनमा दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध थप मजबुत र विस्तारित हुनेमा आफ्नो विश्वास रहेको पनि सो पत्रमार्फत उल्लेख गरेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×