प्लेयर टू वाच: ग्रानिट जाका, स्वीटजरल्याण्ड

काठमाडौँ - पछिल्ला वर्षहरूमा स्वीटजरल्याण्डले ठुला प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गर्दै आइरहेको छ। गत वर्षको यूरोमा स्वीटजरल्याण्ड क्वार्टरफाइनलसम्म पुगेको थियो। यसक्रममा विश्वविजेता फ्रान्सलाई हराएको स्वीटजरल्याण्ड स्पेनसँग पेनाल्टीमा स्तब्ध बनेको थियो।

कतार विश्वकपमा स्वीटजरल्याण्डले आफ्नो दाबेदारी कायम राख्दै अन्तिम १६ मा प्रवेश गरेको छ। अब टोलीसामु पोर्चुगलको चुनौती रहेको छ। क्रिस्टियानो रोनाल्डोको टोलीलाई पन्छ्याउन ग्रानिट जाकाको भूमिका महत्त्वपूर्ण रहनेछ।

सन् २०११ मा स्वीटजरल्याण्डका लागि डेब्यू गरेका भेटरान खेलाडीले ११० खेल खेल्दै १२ गोल गरिसकेका छन्। आर्सनलबाट व्यावसायिक फुटबल खेल्दै आएका मिडफिल्डर, २९ वर्षीय जाका टोलीका कप्तान र स्वीस टोलीको मुटु हुन्।

बासेल जन्मिएका ग्रानिट जाकाको परिवार कोसोभो र अल्बानियाबाट आएका हुन्। त्यसैले उनका दाइ टाउलान्ट जाका अल्बानियाबाट खेल्छन्। ग्रानिट जाकालाई मैदानमा निकै आक्रामक खेलाडी मानिन्छन्, एउटा नेतृत्वकर्ता जो कुनै खेलाडीसँग जुध्न पछि पर्दैनन्। सटिक पास गर्ने उनको क्षमताको पनि निकै तारिफ गरिन्छ।

विश्वकप छनोटमा चोटका कारण मात्र २ खेल खेल्न पाएका जाका यस वर्ष भने सबै खेल खेल्न पाएका छन्। बुन्डेस लिगामा १ सयभन्दा बढी र प्रिमियर लिगमा पनि २ सयभन्दा बढी खेल खेलिसकेका जाकाको अनुभव आजको खेलमा पक्कै पनि महत्त्वपूर्ण रहनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×