काठमाडौँ - चलचित्र ‘कबड्डी ४’ ले आक्रामक ओपनिङ गरेको छ। पहिलो दिन शुक्रबार चलचित्रले व्यापारको नयाँ कीर्तिमान रच्यो। कबड्डी–४ लाई मल्टिप्लेक्स हलले उच्च शो दिएका थिए। सोहीअनुसार दर्शक पनि ओइरिएपछि सुखद् सुरुवात गरेको हो।
रामबाबु गुरुङ निर्देशित यो चलचित्रले क्यूएफएक्समा १०५ शो र बिग मुभिजमा १७ शो प्राप्त गरेको छ। अहिलेसम्म कुनै पनि नेपाली वा विदेशी चलचित्रले यति धेरै शो पाएका थिएनन्। पहिलो दिन सबै शोहरु हाउसफुल भए। कबड्डी ४ ले पहिलो दिन साढे २ देखि ३ करोड रुपैयाँ कलेक्सन गरेको बताइएको छ।
निर्देशक रामबावु गुरुङले पनि चलचित्रले उत्साहजनक ओपनिङ गरेको जानकारी पाएको बताए। शनिबारका लागि पनि देशव्यापी रूपमा शतप्रतिशत बुकिङ भएको छ। आइतबारको ६५ प्रतिशत टिकट बिक्री भइसकेको छ।
यो चलचित्रले डिजिटल राइट र ओभरसिज राइट विक्रीबाट पहिल्यै ३ करोड रुपैयाँ कमाइसकेको छ। निर्माण पक्षका अनुसार युरोप, अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड लगायतका देशमा प्रदर्शन अधिकार बिक्री भएको छ। नेपालका हलबाट हुने आम्दानी फिल्मको पूर्ण मुनाफा हो।