स्याङ्जा - नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपीएफ क्लब फराकिलो गोल अन्तरले विजयी भएको छ। वालिङमा भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई १६-० को फराकिलो अन्तरले पराजित गरेको हो।
एपीएफलाई जिताउन सावित्रा भण्डारीले ५ गोल गरिन् भने सरु लिम्बुले ह्याट्रिक गरेकी थिइन्।
खेलको ५ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी सावित्राले १३ औं, १८ औं, ४५ औं र ५२ औं मिनेटमा गोल गरिन्।
यस्तै सरुले १९ औं, ३६ औं र ४८ औं मिनेटमा गोल गरिन्।
अनिता केसी र रबिना गोलेले २-२ तथा प्रिति राई, सविता राना, मनमाया लिम्बु, गिता रानाले १-१ गोल गर्न सफल भए।