पाँचथर - २०७८ सालको मदन पुरस्कारका लागि उत्कृष्ट आठमा छानिएको ‘यादको सन्दुक’ नामक कविता कृतिमाथि शनिबार पाँचथरको फिदिममा विमर्श गरिएको छ।
गजल मञ्चले आयोजना गरेको कार्यक्रममा उक्त कृतिको विमर्श गरिएको हो। पुस्तकमा समावेश गरिएका कविता उपर टिप्पणी गर्दै वक्ताले कविले आफ्नै जीवन भोगाइलाई कविता कृतिमा उतारेको बताएका छन्।
कवि दीपा मेवाहाङको कविता कृतिमा नारीवाद, महिला स्वच्छन्दता, प्रेमिल गरी लामा छोटा ४८ वटा कविता समेटिएका छन्। झापा घर भएकी कवि दीपा रोजगारीको सिलसिलामा दक्षिण कोरियामा बसेर साहित्य साधना गर्दैछिन्।
मदन पुरस्कार गुठीले २०७८ सालको मदन पुरस्कारका लागि पुस्तक माग गर्दा २ सय ९९ कृति प्राप्त भएकोमा दीपाको संग्रह ‘यादको सन्दुक’ उत्कृष्ठ आठमा छानिएको छ।
संग्रह उपर कवि देवेन्द्र सक्तेन, मधुराज केरुङ, राधा स्मृति र सुनिल आङवोले समीक्षा गरेका थिए। कार्यक्रममा कविता र गजल समेत रचना वाचन गरिएको थियो। पाँचथर गजल मञ्चका अध्यक्ष सन्देश सुब्बाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।