काठमाडौँ - नेपाल क्रिकेट खेलाडी संघले आज सीप्यान क्रिकेट अवार्डकाे दाेस्राे संस्करण आयाेजना गर्दैछ। काठमाडौंमा शुक्रबार साँझ हुने अवार्ड समाराेहमा विभिन्न ४ विधामा खेलाडी तथा टिमलाई पुरस्कृत गरिनेछ।
यसपल्ट वर्षकाे उत्कृष्ट पुरुष र महिला खेलाडी तथा वर्षकाे उत्कृष्ट उदयीमान खेलाडीलाई सीप्यान अवार्ड दिइनेछ। त्यस्तै माेमेन्ट अफ द इयर नामक अवार्डबाट व्यक्तिगत रुपमा खेलाडी वा टिम पुरस्कृत हुनेछ। याे विधा समर्थककाे मतका आधारमा घोषणा गरिनेछ।
सीप्यानले सन् २०१९मा अवार्डकाे पहिलाे संस्करण आयाेजना गरेकाे थियाे। काेराेना महामारीका कारण दाेस्राे संस्करण गर्न ३ वर्ष लागेको हो। यो संस्करणमा पछिल्लो २ वर्षको प्रदर्शनको आधारमा खेलाडीको मूल्यांकन गरिनेछ।
वर्ष उत्कृष्ट पुरुष र महिला खेलाडी तथा माेमेन्ट अफ द इयरकाे विजेताले १ लाख ३२ हजार पुरस्कार प्राप्त गर्नेछन् भने उदीयमान विधाका विजेताले ६६ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।