म्याग्दी - वैशाख ३० अर्थात् स्थानीय तहको निर्वाचन आउन अब केवल ७ दिन मात्र बाँकी रहँदा म्याग्दीमा उम्मेदवार र राजनीतिक दलहरूले मतदाताको घरदैलोमा नै पुगेर मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएका छन्।
निर्वाचनमा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि यसपटक उम्मेदवार र दलहरूले घरदैलोमै पुगेर आफू र आफ्नो दलका उम्मेदवारलाई मत माग्नुका साथै मतदातालाई कसरी मतदान गर्ने भन्ने विषयमा सिकाउन थालेका हुन्।
मतदातालाई मतदानको तरिका सिकाउन उम्मेदवार, नेता र कार्यकर्ता घरघरमा पुगेका छन्। चुनाव प्रचारका लागि गाउँगाउँमा पुगेका उम्मेदवारले चुनावी घरदैलो अभियानसँगै मतदाता शिक्षा पनि अभियान चलाएका छन्।
बेनी नगरपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार चिरञ्जीवी पौडेल र नेकपा माओवादी केन्द्रको तर्फबाट उपप्रमुखमा उम्मेदवार ज्योति लामिछानेले शुक्रबार बेनी नगरपालिका–४ थामडाँडा, सुर्केमेला र १ बगरफाँटका मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै मत मागे। बेनी नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको २ दलीय गठबन्धन छ।
चुनावको चहलपहल शुरू भएपछि आयोगले नै घरघरमा मत कसरी दिने भनेर सिकाउन आउने गरेकामा यसपटक उम्मेदवार तथा नेताहरूले नै सिकाउन आएको बेनी नगरपालिका–२ का ७० वर्षीय पदमपाणि शर्माले बताए। ‘अहिले मतपत्रका धेरै चिह्नमा छाप लगाउनुपर्छ, यसभन्दाअघि धेरैपटक मतदान गरे पनि यसपटक अलि कठिन भएकाले मतदाता शिक्षा कार्यक्रम आवश्यक छ,’ उनले भने।
मालिका गाउँपालिकामा कांग्रेसका तर्फबाट गाउँपालिकाको प्रमुखमा उम्मेदवार बनेका श्रीप्रसाद रोका र माओवादी केन्द्रको तर्फबाट पालिका प्रमुखमा उम्मेदवार बनेका रेशम जुग्जाली ‘सुविन’ले पनि पालिकाका वडा, टोलटोलमा पुगेर मतदाता शिक्षाबारे जानकारी दिइरहेका छन्।
मतदातासँग मत माग्ने मात्रै होइन, उनीहरूलाई मतदानबारे जानकारी दिनु आफ्नो दायित्व रहेको अध्यक्षका उम्मेदवार रोकाले बताए।
नेपाली कांग्रेस म्याग्दीले उम्मेदवारसहित केही कार्यकर्तालाई चुनाव प्रचारप्रसारमा पठाएर अन्य पदाधिकारी र सदस्य मतदाता शिक्षाका लागि गाउँगाउँमा खटाएको कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले बताए। उनले भने, ‘५ वर्षअघि भएको मतदान प्रक्रिया कतिपयले भुलेको पनि हुनसक्छ, सक्षम र योग्य उम्मेदवार छनोट गर्न पाउने अधिकार मतदातालाई छ, त्यसकारण पनि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरेकामा हामी आफैंले यसबारेमा गाउँगाउँ र टोलटोलमा पुगेर शिक्षा दिइरहेका छौं।’
धवलागिरि गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार बनेकी थमसरा पुनले पनि यतिबेला आफ्ना मतदातालाई मतदान गर्ने तरिका सिकाउँदैछिन्। मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएपछि कतिपय मतदाता मतदान गर्ने तरिकामै अल्मलिएका र मत बदर हुन नदिन घरघरमा पुगेर उनीहरूलाई सचेत गराइएको उनको भनाइ छ।
बेनी नगरपालिका–२ मा कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार यामबहादुर कार्की पनि मत बदर हुन नदिन नागरिकलाई सचेत बनाउने कार्यमा व्यस्त छन्। यहाँका उम्मेदवारसहितका नेता कार्यकर्ताले नमूना मतपत्र लिएर मतदान गर्न सिकाइरहेका छन्।
मतपत्रमा धेरै चिह्नमा छाप लगाउनुपर्ने भएकाले मतदान प्रक्रियामा कोही अल्मलिनु नपरोस् भनी नमूना मतपत्र बोकेर घर–घरमा मतदान गर्न जानकारी दिने गरिएको उम्मेदवारहरूको भनाइ छ।