कर्मचारीसँगको मैत्रीपूर्ण खेलमा मेयर बालेनको टिम पराजित

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधिको टिम पराजित भएको छ।

काठमाडौँको दशरथ रंगशालामा महानगर दिवसको अवसरमा सोमबार भएको मैत्रीपूर्ण खेलमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको टिमले मेयर बालेन (बालेन्द्र) साहको टिमलाई ६-१ ले पराजित गरेको हो।

मेयर साहको नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको नेतृत्वमा कर्मचारीको टिमबीच प्रतिष्पर्धा भएको हो। मेयर साहको टिममा मेयरसहित विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधि र प्रशासकीय अधिकृत अधिकारीको टिममा कर्मचारी र नगर प्रहरी सहभागी भएका थिए।

जनप्रतिनिधिको टिम कप्तान भएपनि मेयर बालेन्द्र साह खेलको उत्तराद्र्धमा मात्रै मैदानमा छिरेका थिए। मेयर साह मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यो खेलले जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरेकी छिन्। महानगरमा जनप्रतिनिधि भएर आएको ६ महिना बढी हुँदा पनि सबै कर्मचारीहरुसँग प्रत्यक्ष रुपमा सम्बन्ध कायम हुन नसकेको तर महानगर दिवसको अवसरमा भएको मैत्रीपूर्ण फुटबल खेलले सम्बन्ध सुधार गर्ने बताइन्। उनले जनप्रतिनिधिहरु खेल हारेपनि फुटबल आयोजनाको उद्देश्य अनुरुप पूरा भएको उनले बताएकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×