पर्वतारोहण सङ्घले पाँच वर्षमा के–के काम गर्‍यो?

काठमाडौँ - पर्वतारोहीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घको पछिल्लो नेतृत्वले झण्डै पाँच वर्षको अवधिमा उल्लेख्य काम गरेको दाबी गरेको छ। विसं २०७४ मा सन्तवीर लामाको नेतृत्वमा चयन भएको सङ्घको कार्यसमितिले कोभिड–१९ महामारीको असहज परिस्थितिकाबीच केही स्मरणयोग्य काम गरेको जनाएको छ।

सङ्घको कार्यसमितिले अन्तिम अवधिसम्मको कामबारे पत्रकार सम्मेलन गरी पर्वतारोहणमा पदप्रदर्शक उत्पादन, पर्वतारोहण प्रवद्र्धन, जनशक्ति अभिमुखीकरण, सामाजिक उत्तरदायित्वलगायत काम गरेको जनाएको छ। तीनवर्षे कार्यकाल रहेको सङ्घमा कोभिड तथा संस्थाभित्रको मुद्दा मामिलाका कारण करिब दुई वर्ष लम्बिएको थियो। संस्थाभित्र अघिल्लो नेतृत्वले विभिन्न विषयमा ३० भन्दा बढी मुद्दा चलाएर सङ्घको शाख गिराउने कार्य गरेको पत्रकार सम्मेलनमा पदाधिकारीले गुनासोसमेत गरेका थिए।

सङ्घका अध्यक्ष लामाले असहज अवस्थामा पनि केही राम्रा काम गरिएको र कतिपय कार्यक्रम पाइपलाइनमा रहे पनि कार्यान्वयन हुन नपाएको बताए। उनले संस्थाको गरिमालाई धुमिल हुने गरी पूर्व नेतृत्वले गतिविधि गरेर संस्थाको शाखलाई कमजोर तुल्याएको बताए।

सङ्घका महासचिव कुलबहादुर गुरुङले कोभिडको त्रासले कतिपय योजनाबद्ध कार्यक्रम कार्यान्वयन हुन नसकेको बताए। तथापि नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसारका काम गरिएको उल्लेख गरे। उनका अनुसार माउन्टेन गाइड कोर्ष, हाइ अल्टिच्युड ट्रेनिङ, स्कीजस्ता कार्यक्रम गरिएको छ।

सङ्घले हालसम्म ५३४ एडभान्स माउन्टेनरिङ गाइड तथा ६०० भन्दा बढी आधारभूत माउन्टेन गाइड उत्पादन गरेको छ। सङ्घका सचिव टीकाराम गुरुङले १०० वर्षे पर्वतारोहण इतिहास र सङ्घको ५० वर्षे अनवरत यात्राका दौरान पर्वतीय पर्यटन प्रवद्र्धन, दक्ष जनशक्ति उत्पादन र नेपाललाई पर्वतारोहणको माध्यमबाट विश्वभर पहिचान गराउने काम भएको बताए।

सङ्घको यही जेठ २७ र २८ गते हुने केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ। निर्वाचन कार्यतालिकाअनुसार २७ गते बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म हुने छ। उम्मेदवारका लागि मनोनयन भने आज १ः३० देखि ४ बजेसम्म तोकिएको छ। सर्वसम्मत नेतृत्वका लागि पहल भइरहेको र यसपटक सम्भवत निर्वाचन नभई सहमतिमा नेतृत्व चयन गरिने सङ्घका महासचिव गुरुङले जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×