काठमाडौँ - कतारमा जारी विश्वकपका दौरान आप्रवासी कमदारको मृत्यु भएको खबर सार्वजनिक भएपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘गहिरो शोक’ व्यक्त गरेको छ।
द एथलेटिकले सार्वजनिक गरेको रिर्पोटअनुसार साउदी अरेबियाको टिमले प्रशिक्षणका लागि आधार बनाएको रिसोर्टको मर्मत गर्ने क्रममा एक फिलिपिन्सका कामदारको मृत्यु भएको थियो।
तर, यसमा फिफाले अन्य कुनै जानकारी नदिई यो एक दुर्घटनामात्र भएको जनाएको छ। यद्यपि, फिफाले घटनाबारे विस्तृत विवरणका लागि स्थानीय सरोकारवाला निकायसँग जानकारी मागिरहेको बताएको छ।
“फिफा यो दुःखद खबरप्रति गहिरो शोक व्यक्त गर्छ। र, निधन भएका कामदारको परिवारप्रति सहानुभूति व्यक्त गर्दछ। कामदारको मृत्युसम्बन्धी प्रक्रिया पूरा भएपछि फिफा यसबारे थप जानकारी सार्वजनिक गर्नेछ,” फिफाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विश्वकप सुरु हुनुअघि पनि कतारले आप्रवासी कामदारप्रति गरेको व्यवहारका कारण चर्को आलोचनाको सामना गर्नुपरेको थियो। ‘द गार्जियन’ सार्वजनिक गरेको रिर्पोटमा विश्वकपका लागि रंगशाला तयार गर्नेक्रममा ६ हजार ५०० आप्रवासी कमदारको मृत्यु भएको खुलाइएको थियो।