काठमाडौं— बजारमा केराको मूल्य उल्लेख्य रूपमा बढेको छ। केरा आयातमा रोक लगाइएकाले आपूर्ति घट्दा मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष मेघनाथ चौलागाईंले बताएका छन्।
उनका अनुसार पछिल्लो साता–दस दिनयता केराको मूल्य निरन्तर उकालो लागेको छ। हाल होलसेल बजारमा केराको मूल्य प्रतिदर्जन २५० रुपैयाँसम्म पुगेको छ, जबकि यसअघि १५० रुपैयाँसम्ममा कारोबार हुँदै आएको थियो।
केराको मुख्य सिजन असार–साउन भए पनि पुस, माघ र फागुनलाई अफ सिजन मानिन्छ। अघिल्ला वर्षहरूमा अफ सिजन तथा चिसोका कारण उपभोग कम हुँदा मूल्य घट्ने गरेको थियो। तर यस वर्ष भारतीय केरा आयात गर्न नदिँदा माग कम भए पनि आपूर्ति अभावकै कारण मूल्य बढेको व्यवसायीहरूको भनाइ छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको सोमबारको मूल्य सूचीअनुसार केरा प्रतिदर्जन होलसेल मूल्य १८० देखि २०० रुपैयाँसम्ममा कारोबार भइरहेको देखिन्छ।