काठमाडौँ - भारतीय पेस बलर जसप्रित बुमराहले अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-२० विश्वकप गुमाउने सम्भावना बढेको छ।
भारतीय एजेन्सी रिपोर्टका अनुसार बुमराह टी-२० विश्वकपबाट बाहिरिसकेको स्पोर्ट्स स्टारले उल्लेख गरेको छ।‘ब्याक इन्जुरी’ का कारण बुमराहले यसअघि युएईमा भएको एसिया कप गुमाएका थिए.
बुमराहले चोटबाट फर्केपछि अष्ट्रेलिया विरुद्धको तेस्रो तथा अन्तिम टी-२० खेल खेलेका थिए। जहाँ उनले ४ ओभरमा ५० रन खर्चिएका थिए। जुन उनको टी-२० करियरकै खराब बलिङ थियो।
अहिले बीसीसीआईको मेडिकल टिमले बुमराहको निगरानी गरिरहेको छ। तर बुमराहलाई अझै रिकभर हुनका लागि ४ हप्ता लाग्ने सक्ने भारतीय सञ्चारमाध्यमले जनाएको छ। जसले गर्दा छनोटकर्ताले उनको स्थानमा अर्को खेलाडी हेर्नुपर्ने हुन सक्छ।
नेशनल क्रिकेट एकेडेमीको फिजियोले बुमराहको शल्यक्रिया गर्नुपर्ने वा नपर्नेबारे केही समयमै बताउने इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।