काठमाडौँ। नेकपा (एमाले) को ३०१ सदस्यीय केन्द्रीय कमिटीमा १३७ जना (४६ प्रतिशत) नयाँ सदस्यको प्रवेश भएको छ। यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दसौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन र सहमतिका माध्यमबाट नयाँ नेतृत्व चयन भएको थियो। केन्द्रीय सदस्यमा ३२ वर्षका युवा र महिलाहरुले पनि प्रवेश पाएका छन्।
एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पुराना र नयाँ केन्द्रीय सदस्यको राम्रो सन्तुलन देखिएको विधानबमोजिम समावेशी अनुहार पनि कायम रहेको छ। एमालेले १० प्रतिशत (३१ जना) सम्म केन्द्रीय सदस्य मनोनयन गर्न सक्नेछ। यही मङ्सिर २५ र २६ गते काठमाडौँमा बस्ने केन्द्रीय कमिटीको दोस्रो बैठकले स्थायी कमिटी गठन, विभागीय जिम्मेवारी, मनोनयन, महाधिवेशनको समीक्षालगायत कार्यसूचीमा छलफल गर्नेछ। सोका लागि अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, महासचिव शङ्कर पोखरेललगायतका नेताहरुले गृहकार्य गरिरहेको जनाइएको छ। केन्द्रीय सदस्य नपरेको जिल्ला जुम्ला, पर्वत, सोलुखुम्बु र मनाङबाट पनि समावेश गर्ने गरी मनोनयन हुने जनाइएको छ।