काठमाडौँ - नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ। न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलासले रिट खारेज गरेको हो तर फैसलाको पूर्णपाठ भने तयार भइसकेको छैन।
प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिकाले प्रतिस्पर्धामा रोक लगाएको भन्दै दायर फरक फरक दुई रिट अदालतले खारेज गरेको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए। कम्पनीको प्रबन्ध निर्देशकको दरखास्त आह्वानसमेत भइसकेको छ। अदालतले रिट खारेज गरेसँगै अब नियुक्तिको प्रक्रिया अघि बढाउने कानुनी बाटो खुलेको छ।
यसअघि निर्देशिकामा अवकाशको उमेर हद ५८ वर्ष थियो तर निर्देशिका संशोधन गरेर प्रबन्ध निर्देशकमा प्रतिस्पर्धा गर्ने उमेर हद ५६ वर्ष कायम गरिएको थियो। ५६ वर्ष कटेका तर अवकाशको अवधि बाँकी रहेका सुरेन्द्रमान सिंह र डा. राजेन्द्रकुमार पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए। आजको गोरखापत्र दैनिकमा समाचार छ।