बलात्कारको आरोपपछि महोत्तरीका व्यवसायी प्रहरी नियन्त्रणमा

महाेत्तरी - महोत्तरीको बर्दिबासमा बलात्कार प्रयासको घटना सार्वजनिक भएको छ। पीडित युवतीले बर्दिबासका रविन गौतम विरुद्ध बलात्कार प्रयास गरेको आरोपसहित इलाका प्रहरी कार्यालय उजुरी दिए पछि याे घटना सार्वजनिक भएको हो।

गत साउन १६ मा पीडित युवतीले जाहेरी दिनासाथ प्रहरीले आरोपित गौतमलाई अनुसन्धानको लागि पक्राउ गरेको थियो। उनै गौतमलाई ५ दिन हिरासतमा राखेर आइतबार जिल्ला अदालत महोत्तरीमा बुझाएको छ।

पीडित भनिएकी युवती आरोपित गौतमको किराना पसलमा काम गर्ने गर्थिन्। पसलमा बसिरहेको वेला गौतमले बलात्कार प्रयास गरेको ती पीडित युवतीको आरोप छ। उमेरले १७ बर्ष मात्र भएकी ती युवतीले काम गर्न लागेको १ महिना मात्र भएको थियो। `सुरुदेखि नजिक हुने र संवेदनशील अङ्गहरूमा छुने गर्दथे,´ उनले भनिन्। युवतीको परिवारका अनुसार आरोपित भनिएका गौतमले गरेको यौन हर्कतको विषयमा १५ गते थाहा भएको र १६ गते उजुरी दिइएकाे जनाएका छन्।

`पैसाको लोभ देखाएर पटकपटक यौन प्रस्ताव पनि राख्दा रहेछन्,´ पीडित युवतीका मामाले भने, `हामीलाई पीडक रविनले धम्क्याए पनि, जे गर्न सक्छौ गर भने पछि हामी प्रहरीकोमा पुगेका हौँ।´  उनका अनुसार गत साउन १५ गते स्कुटर किनिदिन्छु भन्दै स्टोरमा सामान लिन गएको वेला जबर्जस्ती गर्ने प्रयास गरेको पीडित युवतीले बताएकी छन्।

छोरीमाथि भएको अन्यायको लागी न्यायको लडाइ लडिरहेको र न्याय दिलाइदिन पीडितका बुबाले अपिल गरेका छन्।

पसलको सिसिटिभी फुटेज नै फर्म्याट
युवतिमाथि गरिएका यौन हरकतको प्रमाण नष्ट गर्ने उद्देश्यले सिसिटिभी फुटेज नै फर्म्याट गरेको पाइएको छ। प्रहरीले थप प्रमाण बटुल्न सिसिटिभीमा कैद भएको भिडियो चेकजाँच गर्ने क्रममा डिलेट गरिएको पाइएको हो। अहिले गौतमको पसलमा भएको सिसिटिभीको हार्ड डिस्क प्रहरीले नियन्त्रण लिएको छ। हार्ड डिस्क रिकभरीको प्रक्रियामा रहेको इलाका प्रहरीले जनाएको छ।

यता आरोपित गौतमले भने आफ्नो काम गर्ने कर्मचारीलाई कुनै पनि यौनजन्य कार्य नगरेको प्रहरीलाई बयान दिएका छन्।  विदेश जाने तरखर गरेको र पैसाको लागि आफूलाई सुनियोजित रूपमा फसाइएको बयान दिएको प्रहरी स्रोतले बताएको छ। यद्यपि कसैलाई अन्याय नहुने गरी छानबिनलाई निष्कर्षमा पुर्‍याउने प्रहरीको भनाइ छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×