काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठन गर्ने जिम्मेवारी संसदको भएपनि आफू नेतृत्वको सरकार हटाएर अर्को सरकार बनेको संसदले नै थाहा नपाएको बताएका छन् ।
नेकपा एमालेको जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले विरुद्ध एक प्रकारको घेराबन्दी भएको बताएका हुन् ।
‘संसदले सरकार परिवर्तन भएकै थाहा पाएन,’ उनले भने, ‘संसदले एकैचोटी विश्वासको मत लिने बेलामा मात्र सरकार परिवर्तन भएको थाहा पायो ।’ जबकि, प्रधानमन्त्री हटाइएको, अर्को प्रधानमन्त्री नियुक्त भएको संसदले थाहा पाउनुपर्ने उनको भनाइ थियो ।
एमाले एक प्रकारको घेराबन्दीमा परेको भए पनि फेरि जनमतबाटै एमालेले देशको नेतृत्व गर्ने उनले बताए । उनले एमालेबाट जनताले ठुलो अपेक्षा गरेको बताए । उनले अहिलेको सरकार सत्तामा बस्न लाएक नभएको पनि दाबी गरे ।