स्थानीय तहको निर्वाचन आउन ४१ दिन मात्रै बाँकी रहँदा सरकारले आफ्ना नेता कार्यकर्तालाई विभिन्न निकायमा नियुक्ति गर्ने क्रमलाई तीव्रता दिएको छ। सरकारले निर्वाचन नजिकिँदै गर्दा ठूलो संख्यामा प्रहरी तथा कर्मचारीको सरुवा गर्दै आफू अनुकूलको प्रहरी प्रशासन बनाउने प्रयास गरेको छ।
सरकारले प्रहरी प्रशासनमा समेत हस्तक्षेप गरी निर्वाचनलाई आफू अनुकूल बनाउन खोजेको हो। पछिल्ला दिनमा सरकारी निकाय कार्यकर्ता भर्ने भर्तीकेन्द्रको रूपमा रूपान्तरण हुन थालेको सरकारी अधिकारीले बताएका छन्।
सरकारले बिहीबार मात्रै ४३ जिल्लामा भूमि आयोगमा अध्यक्षको नियुक्ति गरेको छ। यसरी भूमि आयोग जस्तो निकायमा नियुक्ति लिनेहरूमा सत्तारूढ दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीका जिल्लास्तरका नेता तथा कार्यकर्ता छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार पछिल्लो २०/२५ दिनको अवधिमा मात्रै सयाैँ नियुक्ति भएका छन्। यही अवधिमा सरकारले नेपाल प्रहरीमा तीन एआईजी पदसमेत थप गरी तीन जनालाई एआईजीमा बढुवा गरिसकेको छ।
आजको राजधानी दैनिकमा समाचार छ।