तनहुँ - तनहुँको ऋषिङ गाउँपालिकाको प्रशासकीय भवन निर्माण भएको छ। आफ्नै भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यले सो भवन निर्माण गरिएको हो। विसं २०७६ असोज १६ गतेदेखि भवन निर्माणको काम सुरु भएको थियो।
तत्कालीन गाउँ विकास समितिको पुरानो भवनबाट सेवा प्रवाह हुँदै आएकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि नयाँ भवन निर्माण थालिएको थियो। साँघुरो भवनबाट सेवा प्रवाहमा असहज भएपछि नयाँ भवन निर्माण गरिएको गाउँपालिकाका प्रवक्ता विजयकुमार दरैले जानकारी दिए। “नयाँ भवन निर्माण भएपछि अब सहज रुपमा जनतालाई सेवा प्रवाह गर्न सजिलो हुनेछ,” उनले भने। रु तीन करोड ६१ लाखको लागतमा सो भवन निर्माण भएको हो।
यही चैत १० गते प्रधानमन्त्री शेरवहादुर देउवाको प्रमुख आतित्थ्यमा भवन उद्घाटन गर्ने तयारी गरिएको छ। गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले प्रधानमन्त्री सहभागी हुने कार्यक्रमलाई भव्य र सभ्य बनाउने गरी तयारी थालिएको जानकारी दिए।