काठमाडौँ - भक्तपुरको चाँगुनारायण नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ।
वडास्तरमा हुने विवाद वडास्तरमा समाधान गर्ने उद्देश्यले नगरपालिकाले मेलमिलाप केन्द्र बनाएको हो। यसले नगरपालिकालाई विवादरहित बनाउन र असल समाज निर्माण गर्न सहज हुने विश्वास लिइएको छ। न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख बीना बास्तोलाले भन्नुभयो ,“वडामा हुने विभिन्न खाले सामाजिक र विकास निर्माणका विवादलाई वडास्तरमा नै मेलमिलापको माध्यमद्वारा निरुपण गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो।”
केन्द्रले नगरपालिकाको न्यायिक समितिमा आउने निवेदनको पक्ष र विपक्ष दुवैको रोहवरमा मेलमिलाप सहजकर्ताले आवश्यक छलफल गरी मेलमिलापका माध्यमबाट समस्याको समाधान गरिने उपप्रमुख बास्तोलाले जानकारी दिएका छन्। “कानूनबमोजिम मिलापत्र हुनसक्ने मुद्दाका सम्बन्धित पक्ष र विपक्षले आफैँले रोजेका मेलमिलापकर्ताको सहयोगमा विवादको सही, सरल र दिगो समाधान मेलमिलाप केन्द्रले गर्नेछ”, उनले भने, “यसले पक्षबीच समझदारी, सामाजिक भावनाको विकास हुनाका साथै दुवै पक्षले जितेको अनुभूति हुनेछ।”
नगरपालिकाले केन्द्रलाई सञ्चालन गर्न वडागत रूपमै मेलमिलाप सहजकर्तासमेत छनोट गरी आवश्यक तालिमसमेत प्रदान गरिसकेको छ। नगरपालिकाले ३७ मेलमिलापकर्तालाई मेलमिलापसम्बन्धी ४८ घण्टे आधारभूत तालिम प्रदान गरेको हो।