कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित मुक्त कमैँया बस्तीका केशव डगौरालाई विगतमा जस्तो अहिले मजदुरीमा जाने चटारो छैन। घर खर्च चलाउनका लागि आर्थिक अभावसमेत छैन। सहजरुपमा परिवारको खर्च चल्न थालेको छ। उनले घरमै कुटानीपिसानी मिल सञ्चालन गरेपछिको जीवनशैली नै परिवर्तन भएको छ। कुटानीपिसानी मिलसँगै केशवले घरमै बङ्गुर फार्म र किराना पसल सञ्चालन गरेका छन्। निकै सङ्घर्ष गरेर प्रगति गरेका केशवको विगतका जीवन निकै सङ्घर्षपूर्ण रहेको छ।
“कमैँया मुक्तिको घोषणापश्चात् पुनःस्थापन भएपछि कमाउने साधन केही थिएन”, उनले भने, “मजदुरी गरेर जीविका चलाउँदै आएका थियौँ। दिनभरि मजदुरी गर्दा रु ५० मात्रै ज्याला पाइन्थ्यो। त्यसले घर खर्च चालाउन सकिने अवस्था थिएन। सबै मजदुर एकजुट भयौँ। मजदुरी गर्ने ठाउमा ज्याला बढाए मात्रै काम गर्ने निधो गरेपछि ज्यालाको रकम बढाएर रु १०० कायम भयो। त्यसबाट परिवारको खर्च चलाउन केही सहज भयो।” मुक्त कमैँयाका लागि बस्तीमा सिकर्मी कामका लागि तालिम आयो। त्यसमा केशव पनि सहभागी भए।
सीप सिकेपछि मजदुरीबाट आउने ज्यालाभन्दा बढी रकम पाइन थालेकाले परिवारका लागि खर्च जुटाउन सहज हुँदै आयो। गरिबी निवारणका लागि बस्तीमा समूह गठन भयो। “समूहमा आबद्ध भए”, केशवले भने, “समूहबाट केही रकम कर्जाका लिए। त्यसबाट पुनःस्थापन हुँदा पाइएको पाँच कट्ठा जग्गामा तरकारीखेती गरेँ त्यसबाट तीन महिनामै रु २५ हजार हात लाग्यो। तरकारीखेतीको रकमबाट चार वटा बङ्गुरपालन गरेँ। बङ्गुर बेचेर समूहबाट लिएको कर्जा तिर्न पनि भ्याएँ।”
“मनमा बस्ती वरपर कसैले नगरेको काम गर्नका लागि कुरा खेल्न थाल्यो। निकै सोच विचार गरेपछि कुटानीपिसानीको मिल सञ्चालन गर्ने निधो गरेँ। मिल सञ्चालन गर्नका लागि बङ्गुर बेचेको केही रकम थियो।” उनले बताए, “पुनःसमूहबाट रु ५० हजार कर्जा लिएँ। धान कुट्ने उपकरण, आटा बनाउने चक्की र एक वटा डिजेल इञ्जिन राखेर काम सुरु गरेँ। कुटानीपिसानी मिलबाट आम्दानी बढ्दै गयो र त्यसपछि पैसाका लागि कसैसँग हात थाप्न नै परेन।”
समूहबाट थप रु एक लाख कर्जा लिएर मिलमा लगानी गरी विद्युतीय मोटर पनि जडान गरेपछि केशवको आम्दानी झन बढ्न थाल्यो। हाल मिलमा उनले रु छ लाख लगानी गरी आधुनिक कुटानीपिसानीका उपकरण जडान गरेका छन्। यसबाट मासिक रु २५ हजारदेखि रु ३५ हजारसम्म आम्दानी हुन्छ। मिलकै कमाइबाट पालिएका बङ्गुरबाट वार्षिक रु ७० हजार र किराना पसलबाट रु १५ हजार मासिक आम्दानी हुने गरेको छ।
नौ जनाको परिवारको खर्चसमेत व्यवसायबाटै आएको आम्दानीबाट धानिएको छ। छ कोठाको पक्की घरसमेत केशवले निर्माण गरेका छन्। मिलबाट कमाई हुने पैसाबाटै छोराछोरीको बीमासमेत गरिएको छ। बाह्र वर्षको उमेरमै कमैँया बसेर केशवले काम गरेका हुन्। “पैँतीस वर्षको उमेरसम्म कमैँया बसेर काम गरेँ”, उनले भने, “जीवनमा सङ्घर्ष गर्न सिकेकाले भोकै रहनुपरेको छैन। अरु जस्तै सहजरुपमा जीवनयापन गर्न सकिएको छ।”
“समाजमा सम्मान र आदर पनि उत्तिकै पाइन थालेको छ।” भविष्यका लागि केशवले बैंकमा रकम बचतसमेत गर्दै आएका छन्। “लगनशील भएर कार्य गरे जीवनमा सफलता अवश्य पाइन्छ”, उनले भने, “सङ्घर्ष गरे थोरै पुँजीले पनि धेरै कमाई गर्न सकिँदोरहेछ। त्यसका लागि धैर्यता आवश्यक छ।”