सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

कैलाली - कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो। उनि ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छिन्।

उनले ओल्केस्वरुप माइत लैजान आफ्नो बारीमा रहेका तरकारी कर्कलो, चिचिन्डा, भिन्डी, भान्टालगायतका तरकारीको पोको पारिन्। बिहानै माइत हिँडेकी उनले मान्यजनको सम्मानस्वरुप सो पर्वका अवसरमा कोसेली लगेर जाने गरिएको प्रचलन गरेको जानकारी दिइन्। “माइत जाने अवसर पनि मिल्छ, घरमा भएका तरकारी तथा फलफूल लगेर जाने गरिन्छ”, विक भन्छिन्, “माइत गएर मीठो खाने, भेटघाट हुने र रमाइलो गर्ने गरिन्छ।”

टीकापुरकी रमा देवकोटा पनि ओल्के पर्वका अवसरमा कोसेली बोकेर मामाघर हिँडेकी छिन्। उनि हरेक वर्षजसो ओल्के पर्वको अवसरमा मामाघर जान्छिन्। “मामाघर जान्छु, मीठो खानपान गर्ने र रमाइलो गरिन्छ”, उनले भनिन्, “ओल्के लिएर गएपछि मामाघरमा दान-दक्षिणा तथा लुगाकपडा दिने चलन छ। आफूले सकेको दिने चलन छ।”

वर्षात्को समयमा बाढी, पहिराजस्ता विपतका घटना धेरै हुन्छन्। ओल्के पर्वमा विपद्बाट ज्यान र सम्पत्ति जोगिएको भन्दै खुसीयालीस्वरुप मनाउने गरिएको पनि बताइन्छ। ओल्के पर्व सुदूरपश्चिमको आफ्नै मौलिक पर्व हो। आफूभन्दा ठूलाबडा, मान्यजन र ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप ‘ओल्को’ अर्थात् उपहार दिने चलन छ। उपहारमा हरियो सागपात तथा फलफूल अनिवार्य दिइन्छ।

वर्षायामका वैशाखदेखि साउनसम्मको समयमा रोगव्याधि तथा महामारी फैलने जोखिम रहन्छ। यही समयमा विभिन्न प्राकृतिक विपत्ति आउनसक्ने समय मानिन्छ। यस्तो सङ्कटग्रस्त समयमा मरिन्छ कि भनेर वैशाख सङ्क्रान्तिमा विशु मनाउने र बाँचेको खुसीयालीमा भदौ सङ्क्रान्तिमा ओल्के मनाउने प्रचलन रहिआएको अगुवाहरू बताउँछन्।

साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको संस्कृतिका जानकार तथा वीरेन्द्र विद्या मन्दिरका प्रधानाध्यापक फणिन्द्रराज रेग्मी बताउछन्। “साउन मसान्तसँगै सुदूरपश्चिममा ओल्के पर्वको रमझम सुरु हुन्छ। यो पर्वसँग सुदूरको परम्परा, संस्कृति र एकअर्काप्रतिको सम्मान जोडिएको छ”, उनि भन्छन्, “हरेक पर्वले मानिसलाई सभ्य र एकअर्काप्रतिको सम्मान बढाउँछ।” पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×