लामिछानेबारे निर्णय लिन कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध खुलाउने विषयमा संसदीय दलको बैठकबाट निर्णय लिने निष्कर्षमा पुग्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज –मंगलबार) भएको छलफल पछि कांग्रेस सदन खुलाउन केहि सकारात्मक देखिएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरूलाई सहकारी ठगी प्रकरणमा देखिएका समस्या समाधान गर्न आफू जुटिरहेकाले राष्ट्रपतिको सम्बोधनमा अवरोध नपुर्‍याउन आग्रह गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान कांग्रेस महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखकसँग प्रधानमन्त्री प्रचण्डले त्यस्तो आग्रह गरेका हुन् ।

‘सहकारी ठगी प्रकरणमा भएको समस्या समाधान गर्नका लागि म पूरै कोशिस गरिराखेको छु । म समस्या समाधानतर्फ नै उन्मुख छु । समाधान गर्छु भन्नुभयो,’ प्रमुख सचेतक लेखकले छलफलपछि भने, ‘आज नेपाल सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलबाट सार्वजनिक हुने भएकाले त्यो सम्बोधनलाई तपाईंहरूले अवरोध नगरिदिनुस् भन्नु भयो ।’

प्रमुख सचेतक लेखकले अहिले केहीबेरमा बस्ने संसदीय दलको बैठकमा छलफल गरेर निष्कर्षमा पुग्ने बताएका छन् । ‘प्रधानमन्त्रीको कुरा हामी व्यवहारमा देख्न चाहन्छौं । हामी अहिले दलको बैठकमा छलफल गर्छौं र निष्कर्षमा पुग्छौं,’ उनले भने । कांग्रेस संसदीय दलको बैठक अहिले बिहान ९ बजे बस्दैछ ।

सरकारको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा राष्ट्रपतिले वाचन गर्ने परम्परा छ । यसका लागि मंगलबार दिउँसो ३ बजेका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । संघीय संसद सचिवालयले २ः४५ भित्र औपचारिक पोशाकमा संसद हलमा प्रवेश गरिसक्न सांसदहरूलाई सूचना जारी गर्दै आग्रह गरिसकेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×