झापामा खेलकूद गतिविधि बढ्यो

झापा - कोभिड–१९ को जोखिम केही कमी आएसँगै झापामा खेलकूदका गतिविधि हुन थालेका छन्। जिल्लाको मुख्य सहर तथा गाउँगाउँमा खेलकूदका गतिविधि हुन थालेका पाइएको छ।

दमकमा दुई ठूला प्रतियोगिताको आयोजना गरिएका छन् भने बिर्तामोडमा राष्ट्रियस्तरको गोल्डकप हुँदै छ। त्यसैगरी कमल गाउँपालिकामा भने अध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना गरिएको छ। ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर दमकमा प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०७८ तयारी तीव्र पारिएको दमक नगरपालिकाले जनाएको छ।

नगर खेलकूद विकास समिति, दमक भलिबल विकास उपसमिति र दमक कराते खेल उपसमितिको संयुक्त आयोजनामा यही फागुन २१ देखि २४ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको नगर खेलकूद विकास समितिका अध्यक्ष भीमराज केसीले जानकारी दिए। उनका अनुसार महिला खेलाडीको क्षमता अभिवृद्धि गराउन महिला लक्षित भलिबल प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, नेपाल सशस्त्र प्रहरी बल काठमाडौँ, न्यू डाइमन्ड स्पोट्स एकेडेमी काठमाडौँ र आयोजक प्रदेश नं १ ‘ए’ र ‘बि’ सहभागी बन्ने छन्। प्रतियोगिताका बिजेताले रु दुई लाख, द्वितीयले रु एक लाख साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्, भने विभिन्न बिधागत, उत्कृष्ट खेलाडी र सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×