काठमाडौं - मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६३ मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका–५ बस्ने २१ वर्षीय सागर चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित दमक नगरपालिका–८ बस्ने ३५ वर्षीय नविन
बस्नेतसमेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी झापाको झापा गाउँपालिका–४ मंगलबारेबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्रामसहित सोही नगरपालिका–६ शरणामती बस्ने ३६ वर्षीय तूला लाल गणेशलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा ३ सय १४ ग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ सुक्ला गण्डकी नगरपालिका–५ बस्ने २० वर्षीय रोहित गुरुङ र सोही नगरपालिका–८ गणपति बस्ने २४ वर्षीय मान बहादुर भुजेल रहेका छन् । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग.१ ख ९३११ नम्बरको बसमा सवार गुरुङको साथबाट १ सय ५२ ग्राम र ग.१ ख ३८४६ नम्बरको बसमा सवार भुजेलको साथबाट १ सय ६२ ग्राम गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।