काठमाडौँ - बेल्जियमका कप्तान इडेन हजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्। कतारमा जारी विश्वकपमा बेल्जियम समूह चरणबाटै बाहिरिएपछि कप्तान हजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्।
३१ वर्षीय हजार्डले सन् २००८ मा १७ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरेका थिए। हजार्डले राष्ट्रिय टिमबाट १ सय २६ क्याप जित्दै ३३ गोल गरेका छन्। हजार्डले स्पेनिस महारथी रियल मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका छन्।
‘आज एक पन्ना बदलिएको छ। मैले आफ्नो अन्तर्राष्ट्रिय करियरबाट बिदा लिने निर्णय गरेको छु। उत्तराधिकारी तयार छन्। म तपाईंहरूलाई याद गर्नेछु, माया र प्रेमका लागि धन्यवाद,’ उनले भनेका छन्। बेल्जियम हजार्डकै कप्तानीमा सन् २०१८ मा रुसमा भएको विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो।