काठमाडौँ - न्युजिल्यान्ड क्रिकेटले महिला र पुरुष दुवै टिमका खेलाडीलाई समान पारिश्रमिक दिने भएको छ। न्युजिल्यान्डको महिला र पुरुष दुवै टिमलाई ५ वर्षसम्मका लागि समान तलब र म्याच फीको व्यवस्था गरिएको छ। न्युजिल्यान्डका ६ वटा क्रिकेट संघ र क्रिकेट खेलाडी संघबिच यसका लागि ५ वर्षको सहमति भएको हो।
जस अनुसार महिला र पुरुष दुवैको निर्धारित ओभरका अन्तर्राष्ट्रिय खेलहरुको म्याच फी एकदिवसीयका लागि न्युजिल्यान्ड डलर ४ हजार र टि-२० अन्तर्राष्ट्रियका लागि २ हजार ५०० डलर हुनेछ।
घरेलु प्रतियोगिताका लागि निर्धारित ओभरको खेलका लागि खेलाडीले प्रति खेल ५७५ डलर पाउनेछन्। टेस्ट म्याचको लागि १० हजार २५० र शिल्ड गेमका लागि १ हजार ७५० न्युजिल्याण्ड डलर म्याच फी तोकिएको छ।
नयाँ सम्झौता पश्चात उच्च वरीयताका खेलाडीले प्रतिवर्ष १ लाख ६३ हजार २४६ डलर पाउनेछन्। नवौ वरियतामा रहेकाले १ लाख ४८ हजार ९४६ डलर, १७ औं वरियतामा रहेकाले १ लाख ४२ हजार ३४६ डलर पाउने गरि सम्झौता भएको छ।
उनीहरुको पारिश्रमिक एउटै हुनाले महिला क्रिकेटरलाई निकै ठूलो हौसला मिलेको न्युजिल्यान्ड महिला क्रिकेट टिमकी कप्तान सोफी डिभाइनले बताइन्। न्युजिल्यान्ड क्रिकेट(एनजेटसी) का मुख्य कार्यकारी डेविड ह्वाइटले पनि यो सम्झौताको खुलेर प्रशंशा गरेका छन्।