काठमाडौँ - हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्सअफिसमा १ करोड रुपैयाँ ग्रस हारहारीमा ‘ओपनिङ’ गरेको छ। शुक्रबार यो फिल्म नेपालसहित अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज भएको थियो।
नेपालका १ सय १२ हलबाट प्रदर्शनमा आएको फिल्मले बिहानैदेखि काठमाडौं उपत्यकासहित मोफसलका ठूला सहरमा ७० देखि शतप्रतिशत अकुपेन्सीको ओपनिङ गर्यो। फिल्मको ओपनिङमा ६५ प्रतिशत काठमाडौं र बाँकी मोफसल टोरिटोरीको योगदान देखिन्छ। यद्यपी, कलेक्सनको अन्तिम आँकडा आउन बाँकी नै छ। काठमाडौं, भक्तपुर र ललितपुरस्थित मल्टिप्लेक्सहरु (ए र बी वर्गका समेत) दुबै हाउसफूल रहेका छन।
चितवन, पोखरा, बुटवल, इटहरी लगायतका मोफसलका ठूला सहरहरु समेत महापुरुषमय बने। फिल्मले दर्शकबाट सकारात्मक वर्ड अफ माउथ प्राप्त गरेको छ र यसको फाइदा आगामी साताभरि नै देखिनेछ।
पहिलो दिन १ करोड ओपनिङ गरेको फिल्मले दोस्रो दिन शनिबार स्वभाविकरुपमा त्यो भन्दा बढी कमाइ गर्नेछ। यो ट्रेन्ड हेर्दा आइतबारसम्मको सार्वजनिक बिदाको अवधिभर फिल्मको पहिलो सप्ताहन्तको कमाइ ५ करोड आसपास हुने प्रक्षेपण छ।
‘महापुरुष’को सकारात्मक पक्ष के हो भने यो फिल्म बक्सअफिसमै लामै समय चल्ने देखिन्छ। ‘वर्ड अफ माउथ’ सकारात्मक भएकाले यसको स्थिर कमाइ पहिलो र दोस्रो सप्ताहन्तसम्म स्पष्ट देखिनेछ। प्रदीप भट्टराई निर्देशित फिल्म महापुरुषमा हरिवंश आचार्य, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल लगायतको अभिनय रहेको छ।
म्याक्स दिपेश खत्री निर्मित फिल्मको कार्यकारी निर्मातामा बानियाँ स्वयम छन्। फिल्म रिलिजको दिनमा कलाकार, निर्देशक र निर्मातासहितको महापुरुष टोलीले दर्शकसँगै हल भिजिट गरेको थियो।