काठमाडौँ - नेदरल्यान्ड्सले वेल्समाथि ३-२ को रोमाञ्चक जित निकालेको छ। क्याटलान क्लब बार्सिलोनाका फरवार्ड मेम्फिस डिपाएले इन्ज्युरी समयमा गोल गरेपछि नेदरल्यान्ड्सले युएयफए नेसन्स लिग ए ग्रुप ४ मा रोमाञ्चक जित निकालेको हो।
डच टोलीको जितमा डिपाएसँगै नोआ लाङ र कोडी गाक्पोले १/ १गोल गरेका थिए। वेल्सका ब्रेननान जोन्सन र ग्यारेथ बेलले १/१ गरे।
रोटरडाम नेदरल्यान्ड्समा मंगलबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको १७औं मिनेटमा नोआ लाङको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो। उनले भिन्सेन्ट जान्सेनको पासमा गोल गर्न सफल भएका थिए।
२३औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै डच टोलीको अग्रता दोब्बर बनाए। २६औं मिनेटमा ब्रेननान जोन्सनले गोल गर्दै वेल्सलाई खेलमा फर्काउने संकेत दिए। उनले ह्यारी विल्सनको पासमा गोल गर्न सफल भएका थिए।
त्यसपछि खेलको इन्ज्युरी समयमा खेल नाटकीय मोडमा पुगेको थियो। इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित खेलाडी ग्यारेथ बेलले पेनाल्टीमा गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए। तर, त्यसको एक मिनेटपछि डिपाएले गोल गर्दै नेदरल्यान्ड्सको जित पक्का गराएका थिए।
यो जितसँगै नेदरल्यान्ड्स ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा छ। पराजित वेल्स १ अंक जोडेर पुछारमा छ।