काठमाडौँ। अभिनेत्री सृष्टि श्रेष्ठ सन् २०१२ मा ‘मिस नेपाल’ बनेपछि नेपाली सिने जगतमा प्रवेश गरेकी हुन्। उनले चलचित्र ‘गाजलु’बाट अभिनय यात्रा थालेकी थिइन्। तर, उक्त चलचित्रले सोचे अनुरुप सफलता भने हासिल गर्न सकेन। त्यसपछि ‘पोइ पर्यो काले’, ‘जस्ट एनोदर लभ स्टोरी’ र ‘रोमियो एण्ड मुना’ लगायतका चलचित्रमा उनले काम गरिन्। ति चलचित्रले पनि उनलाई सफलता दिलाउन सकेन। तर, उनले आफ्नो यात्रालाई जारी राखिन्।
उनको नयाँ चलचित्र ‘चिसो एस्ट्रे’ चैत ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ। यसैबिच चलचित्रको प्रचारप्रसारको कार्यक्रममा उनले पत्रकारसँग राम्रो मिहिनेत गरेको र चलचित्रबाट सम्पूर्ण कलाकारको पुनर्जन्म भएको बताएकी छिन्। चलचित्रमा उनका अलावा दिव्य देव, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङ मुख्य भूमिकामा रहेका छन्।
महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेको चलचित्र कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको हो। निर्देशक दिन्स पाल्पालीका अनुसार चलचित्र भूपि शेरचनको ‘चिसो एष्ट्रे’ शीर्षकको कविताबाट प्रभावित भएर बनाइएको हो। चलचित्रमा पाल्पालीकै कथा रहेको छ।