पुलिस र एपीएफको लगातार दोस्रो जित, न्यू डायमण्डको दोस्रो हार

काठमाडौँ - विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबले बुधबार पनि बाग्मती प्रदेश न्यू डायमण्ड कप खुला महिला भलिबल प्रतियोगितामा जित निकालेका छन्।

कीर्तिपुरको बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले परोपकार महिला होस्टेललाई सोझो सेटमा पराजित गर्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो।

निकै कमजोर देखिएको परोपकार नेपाल पुलिस क्लबसँग २५-६, २५-६, २५-११ को सोझो सेटमा पराजित भएको थियो। लगातार दोस्रो खेलमा पनि जित निकालेको नेपाल पुलिसले दुई खेलबाट ६ अंक जोडेको छ।

दोस्रो खेलमा पनि पराजित भएको परोपकार अंकविहीन रहेको छ। यसअघि मंगलबार भएको खेलमा पुलिस न्यू डायमण्ड एकेडेमीलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो। परोपकार सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग सोझो सेटमा हारेको थियो।

प्रतियोगिता अन्तर्गत बुधबार नै भएको अर्को खेलमा अर्को विभागीय टोली एपीएफले आयोजक न्यू डायमण्ड एकेडेमीलाई पनि सोझो सेटमा स्तब्ध बनाइदियो।

पहिलो सेटबाट नै हाबी भएर खेलेको एपीएफले न्यू डायमण्डलाई २५-१२, २५-२०, २५-१४ को सेटमा हराएको थियो। यस जितसँगै एपीएफले पनि दुई खेलबाट तालिकामा ६ अंक जोड्न सफल भएको छ।

राउण्ड रोविन पद्धतिमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख २५ हजार प्राप्त गर्ने आयोजकले बताएको छ।

यस्तै, चौथो हुने टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागततर्फको उत्कृष्टले १० हजार रुपैयाँ  प्राप्त गर्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×