काठमाडौँ - सम्भवतः लियोनेल मेसी र क्रिस्चियानो रोनाल्डोपछि फ्यान फलोइङमा आफूलाई शीर्ष स्थानमा राख्दै आएका ब्राजिलियन स्टार नेमारले यही साता दर्शक र उनका समर्थकका लागि अपत्यारिलो सन्देश दिएका छन्।
उनले यो विश्वकप नै आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेपछि विश्व फुटबलमा यी स्टारका समर्थक अहिले २ भागमा विभाजित भएका छन्। कतिपयले अर्को विश्वकप खेल्न सक्ने अवस्थामा नेमारले गरेको यो घोषणा फिर्ता लिनुपर्ने बताइरहेका छन् भने कतिपयले ब्राजिल जस्तो देशमा नेमारले अर्को विश्वकपसम्म नकुर्ने निर्णयको स्वागत पनि गरेका छन्।
सन् २००२ को विजेता ब्राजिल त्यसयता उपाधिविहीन छ। नेमार २० वर्षपछि ब्राजिललाई विश्वकपको उपाधि जिताउन चाहन्छन्। सन् २०२६ को विश्वकपमा नेमार ३४ वर्षका हुनेछन्। अहिले नै उनी अन्य स्टारभन्दा बढी इन्जुरीको समस्यासँग जुधिरहेकाले अर्को विश्वकपका टिममा स्थान बनाउनु चुनौतीपूर्ण रहनेछ।
‘कतार विश्वकप मेरा लागि अन्तिम विश्वकप सम्झिएर खेल्नेछु,’ आफ्नो अन्तिम विश्वकपबारे नेमारले भने, ‘मैले यसबारे मेरो बुबासँग पनि सल्लाह गरिसकेँ। भोलि के हुन्छ कसलाई थाहा तर सन् २०२६ को विश्वकप खेल्छु भन्न सक्दिनँ। त्यसैले अन्तिम सहभागितामा ब्राजिललाई उपाधि दिलाउन चाहन्छु।’
नेमारले ब्राजिलबाट १ सय २१ खेलमा ७५ गोल गरेका छन्। उनी पेलेको ७७ गोलको कीर्तिमान बराबरी गर्न मात्र २ गोलले पछि छन्। त्यसैले यी स्टारका लागि कतार विश्वकप धेरै अर्थमा महत्वपूर्ण हुनेछ। ब्राजिलले समूह जी मा क्यामरुन, सर्बिया र स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।